हेटौंडा । हेटौंडाको सडक विस्तारसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालतको आदेश सरकारी पक्षबाट पालना गरिरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रशासनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको सूचनामा रिट पूर्वक सूचनाको म्याद तामेली भइसकेपछि सर्वोच्च अदालतको आदेशअनुसार प्रक्रिया अघि बढिरहेको उल्लेख गरिएको छ । अदालतको निर्णय बमोजिम सडक विस्तारको विषय अघि बढ्ने कुरामा प्रशासनको सम्मान रहेको जनाइएको छ ।
तर सुरक्षाको दृष्टिकोणले जोखिम ठहर भएका स्थानमा सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय कार्यान्वयन गराउनु सबै सरोकारवालाको दायित्व भएको प्रशासनको भनाइ छ ।
जोखिमयुक्त स्थानमा व्यापार व्यवसाय सञ्चालन हुँदा घरधनी, व्यवसायी तथा आम सर्वसाधारणले जोखिमको सामना गर्नुपर्ने भएकाले जोखिमलाई बढावा दिने कार्य उचित नहुने स्पष्ट गरिएको छ ।
प्रशासनले सर्वोच्च अदालतको आदेश सबै पक्षले अनिवार्य रूपमा सम्मान गर्नुपर्ने विषयसमेत अवगत गराएको छ । प्रशासनको यो धारणा हेटौंडा बजार क्षेत्रको सडक विस्तारलाई लिएर जारी विवाद र अन्यौलता बीच सार्वजनिक भएको हो ।

















