तेस्रो राष्ट्रिय पर्यावरण खुला कविता प्रतियोगितामा मकवानपुरका पौडेल प्रथम

हेटौँडा । साहित्य संगम मकवानपुरको ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्यावरण खुला कविता प्रतियोगितामा मकवानपुरका कवि किसन पौडेल प्रथम भएका छन् ।

पौडेल ‘दोहन’ शीर्षकको कविताले प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् । उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, कैलालीका कवि मोहित जोशी द्वितीय भएका छन् । जोशी ‘समयको अन्त्यको किनारामा उभिएर’ शीर्षकको कविताले द्वितीय स्थान हाँसिल गर्न सफल भए । उनले २० हजार रुपैयाँ नगद प्राप्त गरे ।

यसैगरी, सुनसरीका कवि किरण सिवाको मौन प्रकृतीले तृतीय स्थान र काठमाडौँकी कवि यशोधा अधिकारीको ‘धरतीको विघटन’ र तनहुँका कवि नरोत्तम श्रेष्ठको ‘बिउको रक्तिम घोषणापत्र’ शीर्षकको कविताले सान्त्वना हुन सफल भए । उनीहरुले क्रमशः १० हजार रुपैयाँ र ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

देशभरबाट प्राप्त १ सय ६४ वटा कवितामध्ये उत्कृष्ट १० कविका कविता अन्तिम चरणमा वाचन गरिएको साहित्य संगम मकवानपुरकी सचिव रजनी पौडेलले बताइन् । प्रतियोगिताको निर्णायक मण्डलमा निमेष निखिल र विजय हितान रहेका थिए ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको वार्षिकोत्सवको अवसरमा नेपाली साहित्यमा पर्यावरण चेतनाको भूमिका विषयमा बहस कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सुवास खनालले सहजीकरण गरेको बहस कार्यक्रममा पर्यावरण साहित्य अभियन्ता तथा वातावरणविद् विजय हितान, अंग्रेजी तथा नेपाली साहित्य लेखन प्रशिक्षक तथा अंग्रेजी भाषाविद् ईश्वर कडेल, तथा प्रखर समालोचक डा. घनश्याम घिमिरेले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.