मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औं (हिउँदे) अधिवेशन सम्पन्न भएको छ । बुधबार सोही अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मुख्यमन्त्री बानियाँले औषधीय गुणयुक्त गाँजालाई कानुनी र व्यवस्थित रूपमा अघि बढाउन प्रदेश सरकारले गाँजासम्बन्धी विधेयक ल्याउने प्रतिवद्धता व्यक्त गरे । संसदबाट विधेयक पारित गरी आवश्यक नियम तथा कार्यविधि बनाएर गाँजाको प्रशोधनमार्फत विभिन्न औषधिजन्य तथा औद्योगिक सामग्री उत्पादनमा प्रोत्साहन गरिने उनले बताए ।
गाँजाको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले गण्डकी प्रदेश सरकारले यससम्बन्धी विधेयक ल्याइसकेको जानकारी दिए । बागमती प्रदेश सरकारले पनि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै गाँजाबाट तेलदेखि क्यान्सर उपचारमा प्रयोग हुने औषधिसम्म उत्पादन गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री बानियाँले घरेलु मदिरालाई ब्राण्डिङ गर्न प्रदेश सरकारले कानुन निर्माणको तयारी गरिरहेको जानकारी दिँदै आयातित मदिरा न्यूनीकरण गर्दै स्वदेशी घरेलु मदिरालाई व्यवस्थित रूपमा बजारमा ल्याउने योजना रहेको बताए । उनले संघीयता र गणतन्त्रपछि विकट गाउँहरूमा पूर्वाधार विकासले तीव्रता पाएको उल्लेख गर्दै राक्सिराङ गाउँपालिका पनि क्रमशः सुगमतर्फ उन्मुख हुँदै गएको बताए । गाउँपालिकामा सडक विस्तार, पुल निर्माणलगायतका क्षेत्रमा प्रदेश सरकारले लगानी गरिरहेको र आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए ।
मनहरी–परेवाभीर हुँदै मलेखु निस्कने सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी काम अघि बढाइने पनि उनले बताए । सो अवसरमा पालिको कार्य सम्पादन तथा उन्नतिका निमित्त विभिन्न क्षेत्रबाट योगदान पुर्याउने टोल विकास, कृषि सहकारी, वडा कर्मचारी, पालिका कर्मचारी, विद्यार्थी, शिक्षक र पत्रकार लगायतका व्यक्तित्वहरूलाई गाउँपालिकाले सम्मानसमेत गरेको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मनहरी–३ का वडाध्यक्ष उत्तम वाइबा, पूर्व वडाध्यक्ष बाबुलाल स्याङ्तानलगायतले मन्तव्य राखे।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न भयो ।















