हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले यातायात व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा सम्पन्न कार्यक्रम आज आयोजना गरिएको हो ।
कार्यक्रममा मकवानपुर जिल्लामा क्रियाशील सुमो व्यवसायी, टिकट काउन्टर सञ्चालक तथा चालकहरू गरी अन्दाजी ५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सडक सुरक्षा, यात्रु अभिलेखीकरणको महत्व तथा ट्राफिक नियमको पालना सम्बन्धी विषयमा स्पष्ट पारे ।
उनले सवारी चालक तथा व्यवसायीहरूलाई यात्रुहरूको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै नियमको पालना गरी यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउनु सबैको साझा जिम्मेवारी भएको बताए ।
कार्यक्रममा यात्रु अभिलेखीकरणलाई प्रभावकारी बनाउने, सवारी साधनको अवस्था, तीव्र गतिमा सवारी नचलाउने, ओभरलोड नगर्ने तथा दुर्घटना न्यूनीकरणका उपायहरूबारे समेत छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले आफ्नो समस्या, सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए भने प्रहरी प्रशासनले सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।















