हेटौँडामा १२ औँ सडक खाना महोत्सव हुँदै

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा १२ औं सडक खाना महोत्सव हुने भएको छ । सडक महोत्सव मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजनामा यही पुस १३ गतेदेखि सुरु हुने भएको छ ।

“सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव बारे बुधबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सव आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको अध्यक्ष दिलिस गोविन्द जोशीले जानकारी दिए ।

उनका अनुसार, हुप्रचौरको खेल मैदानदेखि पूर्वतर्फको उत्तर–दक्षिण सडक क्षेत्रमा महोत्सव आयोजना गरिनेछ । महोत्सवको समुद्घाटन पुस १३ गते अपराह्न ४ बजे संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवमा पौराणिक संस्कृतिदेखि आधुनिकसम्मका विभिन्न जातीय परिकारहरू एकै स्थानमा पाउन सकिने आयोजकले जनाएको छ । महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् । रैथाने परिकारका १० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ भने अन्य स्टलका लागि चार दिनको १० हजार रुपैयाँ शुल्क तोकिएको अध्यक्ष जोशीले बताए ।

महोत्सव सञ्चालनको अनुमानित लागत खर्च करिब १५ लाख ७२ हजार रुपैयाँ रहेको जनाइएको छ । महोत्सवबाट ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको पनि आयोजकले जनाएको छ ।

महोत्सवका लागि हेटौँडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ र सम्बन्धित मन्त्रालयबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त हुने जानकारी दिइएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको नृत्य, गायन र ब्याण्ड प्रस्तुती रहनेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.