हेटौंडा । मकवानपुरे गायक विक्रम लुङ्वाको पहिलो तामाङ पप गीत ‘रानी’ सार्वजनिक भएको छ। ओपेरा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले तामाङ पप सङ्गीतमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।
सुरेश मोक्तानको शब्द, तुलसी गौतमको संगीत र विक्रम लुङ्वाको स्वर रहेको गीत २०७२ सालको विनाशकारी भूकम्पअघि नै एरेञ्ज गरिएको थियो। तर भूकम्पपछिको अवस्थाका कारण गीतको स्वर २०७७ सालमा मात्र रेकर्ड गरी बजारमा ल्याइएको गायक लुङ्वाले बताएका छन्।
“यो मेरो गायन यात्राको पहिलो गीत हो। लामो समयपछि यसको भिडियो दर्शकमाझ ल्याउन पाउँदा निकै खुसी छु,” लुङ्वाले भने, “दर्शक तथा श्रोताले गीतलाई माया गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।” गीतको एरेञ्ज फणिन्द्र राईले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ सुमन खड्गीले गरेका छन्। पर्पल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा गायक लुङ्वा र आकांक्षा तामाङको अभिनय देख्न सकिन्छ।
भिडियो छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी युद्ध लामाले गरेका छन्। भिडियो सम्पादन स्वयं लुङ्वाले गरेका हुन् भने रङ संयोजन विनोद बमको रहेको छ। सार्वजनिक भएको केही घण्टामै गीतले युट्युबमा उल्लेख्य दर्शकको साथ पाएको छ। तामाङ भाषा, संस्कृति र मौलिक सङ्गीतको प्रवर्द्धन गर्ने उद्देश्यसहित गीत सार्वजनिक गरिएको बताइएको छ।
















