हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको एक घर भत्काउने क्रममा तीन जना कामदार घाइते भएका छन्।
आइतबार दिउँसो करिब ३:५० बजे बिकी जैसवालको घर आफैंले कामदार लगाई भत्काउने क्रममा दुर्घटनामा परि तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घटनामा घाइते भएका तीनै जनालाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ।
घाइते हुनेहरूमा मकवानपुरगढी गाउँपालिका–१ रानिसेराका २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दाका ३० वर्षीय अरुण चौधरी रहेका छन्। सन्तोष र दिनेशको मकवानपुर सहकारी अस्पतालमा र अरुणको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
तीनै जनाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।















