हेटौँडा । हेटौँडा बजार क्षेत्रमा गरिएको संरचना भत्काउने कार्यलाई लिएर पीडित घरधनी तथा स्थानीयले जिल्ला प्रशासन कार्यालयका सिडिओ र सम्बन्धित मन्त्रालयका जिम्मेवार मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका छन् ।
घरहरू बिनासूचना, संवादबिनै भत्काइयो भन्दै उनीहरूले प्रशासनको नेतृत्व लिन नसकेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयका सिडिओ र सम्बन्धित मन्त्रालयका जिम्मेवार मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका हुन् ।
सडक विस्तारको नाममा गरिएको विधिविहीन निर्णय र बल प्रयोगप्रति आक्रोश व्यक्त गर्दै पीडित पक्षले ६ बुँदे माग सार्वजनिक गरेको हो । उनीहरूले घर भत्काइएकाहरूलाई उचित क्षतिपूर्ति, प्रभावित परिवारका लागि वैकल्पिक बसोबास, मनोमानी ढङ्गले बल प्रयोग गर्ने प्रहरी र अधिकारीमाथि छानबिन, सडक विस्तारको स्पष्ट मापदण्ड र प्रक्रिया सार्वजनिक गर्नुपर्ने, रहेका संरचनाको नक्सा अनुमतिपत्र हेरी मात्र निर्णय गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
पीडित पक्षले प्रशासनले उचित सुनुवाइ नगरे निकट भविष्यमा थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । घटनापछि हेटौँडा क्षेत्रमा तनावयुक्त वातावरण बनेको छ भने स्थानीय नागरिकले संयमित र सहमतिको आधारमा समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, स्थानीय सरोकारवालाहरूले सरकार र प्रदेशस्तरीय निकायले तत्काल कदम चालेर प्रभावितको आवाज सुन्नुपर्ने बताएका छन् ।















