हेटौँडा । साहित्यकार तथा पत्रकार वसन्त पराजुलीले लेखेको तेस्रो कृति ‘बखान’ उपन्यासमाथि हेटौँडामा व्यापक बहस–परिचर्चा गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार पुस्तकको विषयवस्तु, ऐतिहासिक पृष्ठभूमि र साहित्यिक मूल्यबारे विस्तृत छलफल गरिएको हो ।
कार्यक्रममा अग्रज साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले उपन्यासको समग्र शैली, पात्र, ऐतिहासिक तथ्य र संरचनाको गहन समीक्षा प्रस्तुत गरेका थिए । निखिलका अनुसार, लेखकले सरल, वर्णनात्मक र विवरणात्मक शैली अपनाउँदै ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनीमार्फत् चितवनको इतिहास, सहकारी आन्दोलन, २००७ सालको जनक्रान्ति र तत्कालीन राजनीतिक उतार–चढावलाई कलात्मक ढङ्गले बुनेका छन् ।
बखानसिं गुरुङ चितवनमा पहिलो सहकारी संस्था स्थापना गर्ने, बस्ती विकासमा अगुवाइ लिने र क्रान्तिकारी भूमिकाका लागि चिनिने व्यक्तित्व समेत रहेका उल्लेख गर्दै निखिलले कृतिले ऐतिहासिक तथ्यलाई जीवित बनाएको बताए ।
उनले चित्रसेन बाबाको मन्दिरदेखि सोमेश्वर गढी, उपरदाङ गढी, देवघाटको सांस्कृतिक–धार्मिक महत्त्व, चितवन राष्ट्रिय निकुञ्जको स्थापना र त्यहाँ भएका शिकारका घटनाहरूसमेत उपन्यासले अनुसन्धानात्मक शैलीमा उतारेको बताए। यद्यपि उपन्यास वर्णनात्मक र विवरणात्मक पक्षमा बढी झुकिएकाले साहित्यिक मिठास केही कम भएको अनुभूति हुने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएका कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले ‘बखान’ उपन्यासले चितवनको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक पहिचानलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए । सहकारी, राजनीतिकर्मी, साहित्यप्रेमी सबैका लागि कृति पठनीय र सङ्ग्रहणीय रहेको उनले उल्लेख गरे ।

पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, महासंघ केन्द्रीय सदस्य नारायण अधिकारी, प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्ट, पूर्वअध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको कार्यक्रममा सहभागिहरूले कृतिको ऐतिहासिक सान्दर्भिकता, लेखकको अनुसन्धानशीलता र उपन्यासले उठाएका बहुआयामिक प्रसङ्गमाथि प्रशंसा व्यक्त गरेका थिए ।















