हेटौंडा । हेटौंडा बजारभित्र पर्ने राजमार्ग खण्डको सडक विस्तार कार्य सुरु भएपछि हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले मंसिर ५ गते सडक डिभिजन हेटौंडाबाट २५/२५ गज भित्र पर्ने संरचना हटाउन सूचना जारी भएको दिनदेखि नै पीडितलाई क्षतिपूर्ति दिलाउन आफू संघीय निकायमा दौडधुपमा लागेको दाबी गरेकी छन्।
सडक चौडाइ अनुसार संरचना भत्किएपछि प्रभावित स्थानीयको चासो बढेको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै सडक विस्तारलाई ‘असामान्य तर आवश्यक’ कार्यका रूपमा व्याख्या गरेकी छन्। “सडक विस्तारको सूचना आएसँगै मैले पीडितलाई उचित क्षतिपूर्ति दिलाउन संघीय सरकारका विभिन्न निकायमा दौडधुप गरेँ,” नगरप्रमुख लामाले लेखेकी छन्।
उनले सडक विस्तारमा साथ दिने स्थानीय नागरिक, संघीय मन्त्री कुलमान घिसिङ, बागमती प्रदेश सरकार, जिल्ला प्रशासन, प्रजिअ, सडक डिभिजन, सुरक्षा निकाय, स्थानीय युवा तथा उपमहानगरका जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गरेकी छन्।
उनका अनुसार घर तथा संरचना भत्किएका नागरिकले भोगेको क्षतिलाई न्यूनिकरण गर्नु नगरपालिका सुरुदेखिकै प्रतिबद्धता हो। आइतबार नगर कार्यपालिकाको बैठक बसेको थियो । नगरप्रमुखका हैसियतले यस कार्यको ‘जस-अपजस’ दुवै आफूले वहन गर्ने उल्लेख गर्दै उनले पीडितका लागि नगर कार्यपालिकाको बैठकबाट गरिएको निर्णयहरु सार्वजनिक गरेकी छन्।
उनका अनुसार भत्किएका घर–संरचना पुनर्निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउने प्रक्रियामा उपमहानगरपालिका अर्थ मन्त्रालयसँग छलफल अघि बढाउनेछ। संरचना पुनर्निर्माणका कानुनी पाटालाई द्रुततर रूपमा अघि बढाइने र अनावश्यक झन्झट हटाइने उनको भनाइ छ। प्रभावित व्यवसायीलाई व्यवसाय कर छुट दिलाउन पहल गरिने रहेको उनले उल्लेख गरेकी छन्। सडक विस्तारका कारण घरबार विहीन बनेकाहरूको आवास व्यवस्थापनमा पनि नगरपालिका सक्रिय रहने उनले बताइन्।
यस्तै, प्रभावित नागरिकले नयाँ संरचना निर्माण गर्दा २ हजार वर्गफुटसम्म नक्सापास दस्तुरमा छुट दिने प्रस्ताव नगरपालिकाले अघि सार्ने तयारी भएको उनले जनाइन्। चौडा सडकसँगै हेटौंडाका ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका संरचनाको पुनर्निर्माण पनि आवश्यक रहेको उनले विशेष जोड दिइन्।
सडक विस्तारपछि देखिएका समस्या, राहत र सहुलियतसम्बन्धी प्रस्तावलाई आइतबार बसेको कार्यपालिका बैठकले नगरसभा समक्ष पेस गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ। प्रमुख लामाले अब भत्किएका संरचना चाँडो पुनर्निर्माण गरी चौडा सडकसहित ‘नमुना हेटौंडा’ निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने बताउँदै नागरिकलाई साथ सहयोगका लागि आह्वान गरेकी छन्।















