माघ १३ बाट कमाने प्रिमियर लिग क्रिकेट

हेटौंडा । आगामी माघ १३ गतेबाट कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको अध्यक्षतामा बसेको क्लवको बैठकले चौंथो संस्करणको कमाने प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिता माघ १३ गतेबाट माघ १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि तेस्रो संस्करण सम्मको प्रतियोगिता टी–१० को आधारमा गर्ने गरेकोमा यस वर्षबाट फरक ढंगले खेललाई मनोरञ्जनात्मक र रोमाञ्चक बनाउनका लागि २० ओभरको खेल खेलाएर प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले बताए । खेलाडी तथा क्लवको लिलामी पुस १३ गते गर्ने तयारी भएको छ । हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहनेछ ।

गत वर्ष सम्पन्न भएको क्रिकेट प्रतियोगितामा उपाधि विजेतालाई ५० हजार रुपैयाँ र उपविजेतालाई २५ हजार रुपैयाँको पुरस्कार राशी प्रदान गरिएको थियो । यस वर्षको प्रतियोगितामा पुरस्कार राशी बढाउने तयारी गरिएको छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेतालाई प्रदान गर्ने पुरस्कार राशिको रकमबारे पछि निर्णय गरिने उनले बताए । यसवर्षको प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।

टी–२० को आधारमा प्रतियोगिताको आयोजना गराउनाले खेलाडीले आफ्नो कला प्रस्तुत गर्न सक्ने बताउँदै अध्यक्ष खत्रीले अझै मैदानको अभाव रहेको बताए । पहिले १ टिममा एक जना मात्र ८ नम्बर बाहिरका खेलाडी खेल्न पाउने नियम रहेकोमा यो पटक ८ नम्बर वडा बाहिरबाट ३÷३ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ । यसवर्षको प्रतियोगितामा बाहिरी प्रदेश, जिल्ला र राष्ट्रियस्तरको खेलमा सहभागी भइसकेको खेलाडीहरु सहभागी हुने भएकोले स्थानीय खेलाडीले सिक्ने अवसरको पाउने छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.