हेटौंडा । बागमती प्रदेशको स्वास्थ मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुनप्रसाद सापकोटासहित ७ जना विरुद्ध आरोपपत्र दायर भएको छ । तत्कालीन निमित्त निर्देशकसहित ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजविरुद्ध आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुनप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीलाई जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाका तत्कालीन लेखा अधिकृत नेत्रनर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठलाई पनि जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ । हेटौंडामा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
आरोपपत्रमा उल्लेख भएअनुसार केएस इन्टरनेशनलले सबैभन्दा कम ९८ लाख ९१ हजार २०० रुपैयाँ कबोल गरेपनि चौथो कम कबोल गर्ने जनमुक्ति हेल्थ इन्टरप्राइजेजलाई स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का दिएको थियो । जनमुक्तिले १ करोड २४ लाख ४४ हजार १२ रुपैयाँ कबोल गरेको थियो ।
सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गराई कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानुनको उद्देश्य विपरित प्रतिवादीहरूले कम लागतमा स्वास्थ्य सामग्री आपूर्ति गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालाई नियोजित तवरले प्रतिस्पर्धाबाट हटाई लक्षित बोलपत्रदातालाई स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का दिई भ्रष्टाचार गरिएको आरोप पत्रमा उल्लेख छ । यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।















