मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक सोमबार साँझ भीरबाट खसेर खहरे खोलामा अड्किएकी एक बालिकाको प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ ।
स्थानीय छबेली बस्ने हिरा स्याङ्तानकी १४ वर्षीया छोरी रजना स्याङ्तानको खोल्सामा अड्किएर बसिरहेको अवस्था उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरी नायव उपरीषक बोगटीका अनुसार, हिजो मंसिर ८ गते साँझ ८ बजेको समयमा उनी घरबाट छबेली बजार जाँदै गर्दा अचानक करिब ५० मिटर तल खहरे खोलाको भीरमा खसेकी थिइन् । सोही क्रममा खोल्सामा अड्किएर बसिरहेको अवस्था देखिएको थियो ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य थालेको थियो। जोखिमपूर्ण स्थानमा अड्किएकी बालिकालाई सुरक्षित रूपमा निकालेर भीमफेदी स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारका लागि पुर्याइएको प्रहरीको भनाइ छ।
स्वास्थ्य चौकीमा प्रथमिक उपचारपछि थप परीक्षण र उपचारका लागि रजनालाई हेटौंडा अस्पताल पठाइएको छ । बाहिरी चोट नदेखिए पनि ढाडतर्फ भित्री चोट लागेको अनुमान गरिएको र सामान्य अवस्थामै रहेको चिकित्सकहरूले बताएका छन्। उपचारका क्रममा बालिकाका बुवा समेत सहभागी रहेका छन्।















