मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले पार्टी नेतृत्वलाई छिट्टै महाधिवेशन घोषणा गर्न आग्रह गरेको छ। पछिल्लो राजनीतिक परिवेश, संगठनको आन्तरिक अवस्था र कार्यकर्ताको मनोबललाई ध्यानमा राख्दै अब महाधिवेशन ढिलाइ गर्नु उपयुक्त नहुने जिल्ला कांग्रेसको निष्कर्ष छ ।
आज (शनिबार) हेटौँडा–२ स्थित पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा जिल्ला सभापति बुद्ध लामाले नियमित वा विशेष महाधिवेशनको विवादमा नअल्झी पार्टीले आफ्नो मौलिक सिद्धान्तअनुसार अघि बढ्नुपर्ने टिप्पणी गरे ।
कम्युनिष्ट दलहरूसँगको बारम्बारको सहकार्यका कारण कांग्रेस आफ्नो मार्गदर्शनबाट केही टाढा भएको बताउँदै उनले महाधिवेशन नै संगठन सुदृढिकरणको सबैभन्दा प्रभावकारी उपाय भएको स्पष्ट पारे । सभापति लामाले संवैधानिक त्रुटि सच्याउनेदेखि जेनजी पुस्ताले उठाएका परिवर्तनकारी मागहरू सम्बोधन गर्नसमेत कांग्रेसले छिट्टै महाधिवेशनतर्फ अगाडि बढ्नुपर्ने औँल्याए ।

त्यसक्रममा बोल्दै कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले चार वर्षे कार्यकालभित्र महाधिवेशन गर्ने परम्परा कांग्रेसमा कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । २०४८ सालपछि कांग्रेसले नियमित समयमा महाधिवेशन गर्न नसक्दा संविधानसमेत संशोधन गर्ने बाध्यता आएको स्मरण गर्दै उनले विधानको मर्मअनुसार अघि नबढे संगठन धेरै पटक जोखिममा परेको उदाहरण पेश गरे ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, प्रवक्ता अर्जुन चौलागाईसहित कांग्रेसका अन्य नेता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

















