हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण अवरुद्ध भएको उक्त सडकखण्ड आज (सोमबार) बाट पुनः सञ्चालनमा आएको हो ।
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठुलो पहिरो पन्छाएपछि उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिए ।
प्रहरीका अनुसार, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षाका प्रमुखहरू सोमबार बिहानै पहिरो प्रभावित क्षेत्रमा पुगेर अनुगमन र व्यवस्थापन कार्यमा संलग्न भएका थिए ।
गत शुक्रबार रातिदेखिको लगातार वर्षाले कान्तिलोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीनवटा ठुला पहिरोहरू शुक्रबार नै पन्छाइएका थिए भने आज हेटौँडादेखि बगुवा खोलासम्मका साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरोहरू पनि हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हेटौँडाबाट काठमाडौँ जोड्ने सबै मार्ग सञ्चालनमा आइसकेको जानकारी दिँदै यात्रु र चालकहरूलाई भने सतर्कता अपनाउन आग्रह गरेकी छन् । उक्त सडकखण्ड सञ्चालनमा आएसँगै हेटौँडा–काठमाडौँ आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।















