हेटौंडा । रोटर्याक्ट क्लब अफ मकवानपुरले ‘चिया र चङ्गा’ कार्यक्रम आयोजना गरेको छ । शनिबार क्लबका अध्यक्ष अमितकुमार सिंहको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अध्यक्ष सिंहले देशविदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनिहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामनासहित बडा दसैंको शुभकामना व्यक्त गरे । पछिल्लो समय दशैँमा चङ्गा उडाउने प्रचलन लोप हुँदै गएकोले त्यसको जगेर्ना गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।
क्लबले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा ’चिया र चङ्गा’ कार्यक्रम आयोजना गरेको क्लबकी सदस्य रबिना घिमिरेले बताइन् । मकवानपुरगढी ४ नम्बर वडामा अवस्थित मनकामना डाँडामा आयोजित उक्त कार्यक्रममा रोट्र्याक्ट समदस्यबीच दशैँ विशेष शुभकामना आदान प्रदान गरिएको क्लबका सदस्य घिमिरेले जानकारी दिइन्।
राजु सेन्चुरीको संयोजकत्वमा रहेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष प्रदीपकुमार राई, राजन कटुवाल, रोटरी क्लव अफ मकवानपुर अध्यक्ष बिजय कुमार श्रेष्ठ, पूर्व अध्यक्ष विजयलाल श्रेष्ठ, कविन सांगामी, कृष्णबहादुर कार्की लगायत क्लबका पदाधिकारी लगायतको उपस्थिति थियो ।

















