हेटौँडा । हालै सम्पन्न जेन–जी समूहको आन्दोलनले क्षतिग्रस्त बनेको हेटौँडाका वडाहरु पुनः सेवा प्रवाहमा फर्किएका छन् । गत भदौं २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको वडाहरु पुनः संचालना आएको छ ।
जसनुसार, हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले बुधबारदेखि पुनः सेवा दिन थालेको छ । आन्दोलनको क्रममा कम्प्युटर ५ थान, स्क्यानर र प्रिन्टर ७ थान, ल्यापटप २ थान, मोटरसाइकल १ थान लगायत कार्यालयका फर्निचर र बायोमेट्रिक मेसिन जलेर नष्ट भएको वडाध्यक्ष नविन सिग्देलले जानकारी दिए ।
साथै प्रशासन, लेखा र योजना शाखाका सबै कागजातहरु पनि पूर्ण रूपमा नष्ट भएको उनले बताए । । वडाध्यक्ष सिग्देलले शून्य अवस्थाबाट सुरु गरेर केही स्रोत जुटाएको र सेवा प्रवाह पुनः सुचारु गरेको बताए । उनले भने, “शून्य अवस्थाबाट सुरु गरेका छौँ, तर न्यूनतम स्रोत जुटाएर सेवा पुनः सुरु गरेका छौँ। जस्तोसुकै संकटमा पनि एकढिक्का भएर अगाडि बढ्ने हो ।”

यस्तै, जेन जी आन्दोलनको क्रममा हेटौँडाका वडा नं. ३, ४, ११ र १९ को सेवा प्रवाहमा पनि असर पारेको थियो । यसैसन्दर्भमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाले प्रभावित वडाहरूलाई कम्प्युटर हस्तान्तरण गर्दै सहयोग पुर्याएको छ ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडाध्यक्षहरूसहित स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । वडा अध्यक्षहरूले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले सेवा सहज र नियमित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।















