मकवानपुर । जेनजी आन्दोलनका क्रममा भएका भएका क्षतिग्रस्त संरचनाहरुको प्राविधिक परीक्षण सुरु गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र विज्ञ समूहहरूको संयुक्त टोलीले प्रदेश राजधानी हेटौँडाका विभिन्न मन्त्रालय, कार्यालय र निकायहरूमा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका संरचनाहरूको प्राविधिक परीक्षण सुरु गरिएको हो ।
मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाका अनुसार, काठमाडौंबाट २ जना विशेषज्ञसहितको प्राविधिक टोलीले आधुनिक उपकरण प्रयोग गरी भवनहरूको विस्तृत जाँच गरिरहेको हो । सो टोलीले मुख्यतया भवनहरू संरचनागत रूपमा बस्न योग्य छन् वा छैनन् भन्ने कुरामा ध्यान केन्द्रित गर्नेछ ।
करिब १५ वर्षको अनुभव भएका विज्ञहरूले उपकरणसहित परीक्षण गरिरहेको र क्षतिको विवरण सङ्कलन गर्न खटिएको प्राविधिक टोलीले आफ्नो काम लगभग ७० प्रतिशत सम्पन्न गरिसकेको उनको भनाई छ ।
प्राविधिक टोलीले पहिलो चरणमा हेटौँडाका मुख्य सरकारी भवनहरूको निरीक्षण सकिएपछि टोली जिल्लाका प्रादेशिक कार्यालयहरूको अवस्था बुझ्न जाने योजना रहेको उनले जानकारी दिए । प्राविधिक टोलीले आफ्नो प्रतिवेदन एक हप्ताभित्र सचिवस्तरीय कार्यदलमा पेस गर्ने पनि उनले बताए । प्रतिवेदनले दिने सुझावका आधारमा संरचनागत मर्मत (रेट्रोफिटिङ) को काम तत्कालै सुरु गर्ने उनले बताए ।
सामान्य क्षतिको संरचनागत मर्मतको काम १० देखि १५ दिनमा सकिने अनुमान छ भने पार्टिसन, बिजुलीबत्ती, एसी जस्ता अन्य गैर–संरचनागत कामहरू छुट्टै खरिद प्रक्रियामार्फत अघि बढाइने सचिव मरहठ्ठाले जानकारी दिए ।
गत भदौं २३ र २४ गते भएको जेन जी प्रद्धर्शनका क्रममा भएका आगजनी र तोडफोडका कारण बागमती प्रदेश सभा भवन, विभिन्न मन्त्रालयहरु, हेटौँडा उपमहानगरपालिकाको कार्यालय, विभिन्न पार्टी कार्यालयहरु, राजनीतिक दलका नेताहरुको नीजि निवास, भाटभटेनीलगायत संरचनामा क्षति पुगेको छ ।















