जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा चोरी र लुटपाटमा संलग्न सामग्री फिर्ता गर्न आग्रह

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा भएका चोरी, लुटपाट र डकैतीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ।

मिति २०८२ भदौ २४ गते देशभर भएको आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका प्रहरी चौकीहरू, विभिन्न सरकारी कार्यालयहरू, महत्वपूर्ण प्रतिष्ठान, भाटभटेनीसहितका व्यापारीक भवन, व्यक्तिगत पसलहरू र सवारीसाधनहरूबाट जिन्सी सामान, प्रहरी पोशाक, अस्रसस्त्र तथा अन्य सम्पत्ति चोरी भएको भन्दै प्रहरीले फिर्ता गर्न अपील गरेको हो।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “चोरी तथा लुटपाट गरी लगेका सामग्रीहरू यथाशीघ्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध गरिन्छ। अन्यथा फिर्ता नगर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।”

यस्तै, चोरी वा तोडफोडसँग सम्बन्धित फोटो वा भिडियोको लिङ्क भएमा dpomakwanpurcdr@gmail.com मा पठाई अनुसन्धानमा सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ। उक्त जानकारी दिने व्यक्तिको नाम, थर र ठेगाना गोप्य राखिने जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.