मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी दत्तचित्त भएर सुधारका काम अघि बढाउने प्रतिवद्धता जनाएका छनु ।
आइतबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले यो उपलब्धि हासिल हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास महत्वपूर्ण रहेको बताए । थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशकै दोस्रो पूर्ण संस्थागत सुत्केरी नगरपालिका बनेको हो।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार पछिल्ला ६ वर्षदेखि सबै गर्भवती आमाले स्वास्थ्य संस्थामै बच्चा जन्माउँदै आएका छन्, जसका आधारमा आवश्यक सबै सूचक पूरा भएपछि यो घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका स्वास्थ्य संस्था, स्वयंसेवीका र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा थाहाका वडा अध्यक्ष, स्थानीय सरोकारवाला, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीकाको उपस्थिति थियो।















