हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका ५ नम्बर वडा अध्यक्ष छेकु लामाले बुवाको मुख हेर्ने दिन (बुवा खुवाउने औंशी) को सन्दर्भमा हेटौंडा २ चौकीटोलस्थित ओम् वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।
वडा अध्यक्ष लामाले वृद्धाश्रमलाई करिब ६ हजार रुपैयाँ बराबरको दाल, चामल, आलु, नुन, तेल, मस्यौरा लगायत खाद्यान्न सामग्री सहयोग गरेका हुन् । सहयोग हस्तान्तरणका क्रममा उनले वृद्ध आमाबुवाहरूसँग भेटघाट गर्दै आशीर्वाद समेत लिएका थिए ।
‘आफ्नो पिताको सम्झनामा वृद्धाश्रमलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। कसैको पनि बुवाआमा यसरी वृद्धाश्रममा बस्न नपरोस् भन्ने मेरो कामना हो । तर छोराछोरी विहिन भएर बस्न बाध्य भएका आमाबुवाहरूलाई सुरक्षित गाँस, वास र कपडाको व्यवस्था गर्नुपर्ने देखिन्छ। सकेसम्म आफ्ना छोराछोरीकै आश्रयमा जीवन बिताउन पाउने वातावरण बनाउन सकियोस् भन्ने मेरो चाहना छ’, उनले भने । हाल ओम् वृद्धाश्रममा २३ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।















