मकवानपुर । उद्योग वाणिज्य संघको कृषि प्रवद्र्धन समितिले आइतबार कृषि फार्मको अवलोकन भ्रमण गरेको छ । समितिका संयोजक निलमकुमारी पाण्डेको नेतृत्वको भ्रमण टोलीले हेटौंडा १३, पदमपोखरीमा रहेको एम एन एस एग्रो प्रालिमा भ्रमण गरेको हो । एम एन एस एग्रो प्रालिले ड्राइगन फ्रुट, मेवा, बाख्रापालन जस्ता कृषिजन्य कार्यहरु गर्दै आएको छ ।
कृषि उद्यम गर्न ईच्छुक किसानहरुले उक्त फार्ममा गई अध्ययन अवलोकन गर्ने गरेका छन् । एम एन एस एग्रो प्रालिले एक बिगाह जमिनमा कृषि फार्म सञ्चालन गरिरहेको छ । फार्मका संचालक फेन्चु लामा कृषि प्रवद्र्धन समितिको पनि सदस्य समेत रहेका छन् । उनले आफ्नो अनुसन्धान अनुभवसहित कृषि सम्बन्धी जिज्ञासा हुनेलाई मार्गदर्शन समेत गरिरहेका छन् ।
लामाले ड्रागन फ्रुट एक पटक लगाएपछि १५ वर्षसम्म उत्पादन लिन सकिने र एक वर्षभित्रमा पटक–पटक उत्पादन हुने गरेको जानकारी दिए । बजार दर स्थिर भएमा ड्राइगन फ्रुट आयआर्जनको लागि सम्भावनायुक्त रहेको उनको भनाई छ । ड्राइगन फ्रुटको विरुवालाई नियमित स्याहार गर्नुपर्ने उनले बताए । लामाले ड्राइगन फ्रुटलाई केही दिनसम्म सुरक्षित स्टोर गर्न दुई कोठे कोल्ड चेम्बर बनाएको समेत बताए ।
लामाले ८० वटा बाख्राको लागि आधुनिक खोर निर्माण गरी सञ्चालन गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाले कार्यविधि बनाइ ५ वर्षको लागि उपलब्ध गराएको कृषि एम्बुलेन्सलाई समिति बनाएर कार्यविधि अनुरुप परिचालन समेत गरिरहेको छ । कृषि प्रवद्र्धन समितिका संयोजक पाण्डेले संघका अध्यक्ष प्रमोद सिंह रानभाटले अवलोकन भ्रमण सफल बनाउन सघाएको र स्थलगत अवलोकन भ्रमण तथा बैठकले उत्साहित महसुस गरेको बताए ।
समितिका सदस्य हरिशरण अधिकारीले कृषि उद्यमी फेन्चु लामाको उद्यमप्रति रहेको लगावको प्रशंसा गर्दै कृषि कर्ममा लाग्न चाहनेका लागि प्रेरणाको स्रोत भएको बताए । भ्रमणमा महिला उद्यमी विकास समितिका पूर्व कार्यवाहक सभापति देवकुमारी ढकाल, कृषि प्रवद्र्धन समितिका सदस्यहरु विवेक सुवेदी, लक्ष्मी अधिकारी, अभिषेक अधिकारी, महिला उद्यमी विमला ढकाल र संघका कार्यकारी सचिव पवन कार्कीको सहभागिता थियो ।















