हेटौंडामा भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ मनाइने
तामाङ पत्रकारिता पुरस्कार स्थापना

हेटौंडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा ‘तामाङ प्रसारण दिवस’ मनाइने भएको छ । भाद्र १ गते हेटौंडामा विशेष समारोहको आयोजना गरी उत्सवको रुपमा सो दिवस मनाइने भएको हो ।

वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष संघले यो दिवस मनाउँदै आएको छ । संघका बागमती प्रदेश कार्यसमिति अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवद्र्धन र पत्रकारितामा यसको योगदानबारे छलफल हुने छ ।

यस्तै, कार्यक्रममा बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषालाई कार्यान्वयन पक्षमा थप सशक्त बनाउन पत्रकारिताको भूमिकाबारे अन्तरक्रिया समेत हुने उनले बताए । ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ पुरस्कार स्थापना तामाङ पत्रकार संघ बागमती प्रदेश समितिले ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

पुरस्कार स्थापना राप्ती नगरपालिका–७, चितवन निवासी सफल युवा व्यवसायी तथा सञ्चारकर्मी राजेश रुम्बा लामाले आफ्ना दिवंगत बुवा आइते सिं रुम्बा र आमा बुद्धिमाया नेगीको स्मृतिमा गरेका हुन् । तामाङ कुलमा जन्मिएर पत्रकारिता गरिरहेका देशभरका पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापित संघको बागमती प्रदेश समिति तामाङ समुदायको हक–हित, पहिचान, भाषा, संस्कृति तथा कला–साहित्य संरक्षण र प्रवद्र्धनमा क्रियाशील रहँदै आएको छ ।

संघका सचिव दिल बहादुर रुम्बा तामाङका अनुसार, हरेक वर्ष बागमती प्रदेशभित्र क्रियाशील एक जना तामाङ पत्रकारलाई प्रदान गरिने यो पुरस्कारको राशि १० हजार १ सय रुपैयाँ रहनेछ। पुरस्कार प्रत्येक वर्ष तामाङ प्रसारण दिवसको अवसरमा आयोजित विशेष समारोहका बीच प्रदान गरिने उनले बताए । पुरस्कारसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार तामाङ पत्रकार संघ बागमती प्रदेश समितिलाई रहने संघले एक विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.