एचआईभी संक्रमित महिलाका लागि क्षमता विकास तालिम

हेटौंडा । युएफभि संस्थाको आयोजना र मकवानपुर महिला उत्थान समाज, पिएजडी सेन्टर, लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार लगायतको समन्वयमा एचआईभी संक्रमित महिलाहरूको सशक्तिकरण र क्षमता विकास तालिम सम्पन्न भएको छ।

महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था, हेटौंडा–१५ को आयोजनामा भएको तालिम कार्यक्रममा मकवानपुरका १५ जना संक्रमित महिलाहरूको सहभागिता रहेको थियो।

तालिम कार्यक्रममा तालिमको उद्देश्यमाथि युएफभि
को तर्फबाट डा. रिता ढुंगेलले प्रकाश पार्दै एचआईभी संक्रमित महिलाहरूमा आत्मविश्वास अभिवृद्धि, जीवनप्रति सकारात्मक दृष्टिकोण विकास, सामाजिक समावेशिता, तथा आत्मनिर्भरता प्राप्तिका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताइन्। उनले महिला सहभागिहरूलाई आफ्ना क्षमताको पहिचान गरी आत्मशक्ति विकासमार्फत समाजमा स्थापित हुन प्रेरित गर्न यस्ता तालिमहरू अपरिहार्य भएको उल्लेख गरिन्। जीवनको अनुभव आदानप्रदान सत्रमा मिरा कुँवरले आफ्ना प्रेरणादायक जीवन संघर्षहरू सुनाइन्।

प्रशिक्षक डा. राजु खत्रीले मकवानपुर जिल्लामा एचआईभी प्रभावित महिलाहरूको अवस्था र तथ्यांकबारे जानकारी दिँदै यस क्षेत्रका चुनौती र सम्भावनाबारे विस्तृत जानकारी दिए। उनले सहभागीहरूको इच्छा, चाहना र रुचिलाई सर्वेक्षण गर्दै एचआईभी संक्रमितहरूको लागि आर्थिक उपार्जन हुने खालका कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकता औंल्याए।

प्रशिक्षक एवम् मामा घर नेपालको संरक्षक डा. अर्पण पराजुलीले सामाजिक र मनोसामाजिक परामर्श दिँदै सहभागीहरूलाई सशक्त बनाउने उद्देश्यले प्रेरणादायक सन्देश दिए। उनले भने, “कसरी सकारात्मक सोच ल्याउने र के भएमा परिवर्तन हुन्छ? निराश नहुन आग्रह गर्दै अझै धेरै राम्रो काम गरेर कामले समाजमा नाम छोड्न आग्रह गर्छु।” उनले थप भने, “शरीरको वजन बढे ‘व्यायाम’ गर्नुहोस्, मनको वजन बढे ‘ध्यान’ गर्नुहोस्, धनको वजन बढे ‘दान’ गर्नुहोस्।”

सञ्चारकर्मी एवं मोटिभेशनल स्पिकर रूपक कालीराजले सहभागीहरूलाई जीवनमा आत्मविश्वास, आत्मचिनारी र उद्देश्य प्राप्तिका लागि यस्ता तालिमहरूको आवश्यकता अपरिहार्य रहेको बताए। उनले भने, “यस्ता तालिमहरू आफैलाई चिन्ने र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्ने माध्यम हुन्।”

मकवानपुर महिला उत्थान समाजका अध्यक्ष कमला सुवेदीले एचआईभी संक्रमित महिलाहरूले सामना गर्नुपर्ने दोहोरो समस्याबारे चर्चा गर्दै भनिन्, “यसैपनि महिलालाई कमजोर ठान्ने समाजमा एकल अनि एचआईभी संक्रमित भएर बाँच्न साह्रै गाह्रो छ।” उनले स्थानीय तहको बेवास्ताप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “एचआईभी संक्रमितहरूको मनोबल बढाउन र समाजमा स्थापित गराउन पटकपटक स्थानीय तहहरुमा भन्ने र निवेदन दिने गरेतापनि केही पालिकाले थोरै बजेट दिएतापनि धेरैले वास्ता नै गर्दैन।”

मकवानपुर जिल्लामा एचआईभी संक्रमणको अवस्था चिन्ताजनक रहेको कार्यक्रम सहभागीहरूले बताएका छन्। हाल मकवानपुरमा ३२८ जना नियमित औषधि सेवन गरिरहेका छन्। तथ्याङ्क अनुसार, जिल्लामा करिब ४५० जनाभन्दा बढी एचआईभी संक्रमित हुनसक्ने अनुमान गरिएको छ।

विशेषगरी मनहरी गाउँपालिकामा सबैभन्दा बढी संक्रमित रहेका छन्। मनहरीमा मात्रै ३५ जनाभन्दा बढी संक्रमित रहेको र यो संख्या निरन्तर वृद्धि भइरहेको छ। यस क्षेत्रमा संक्रमणदर उच्च हुनुका कारणहरू र त्यसका समाधानका उपायहरूमाथि तत्काल ध्यान दिनुपर्ने देखिएको छ।

२०३० सम्म संक्रमणलाई शून्यमा पुर्याउने लक्ष्य रहेतापनि यो सोचेको जस्तो नहुने देखिएको छ। स्थानीय तहमा एचआईभी संक्रमितको संख्या कति छ र उनीहरूका लागि के-कस्ता कार्यक्रम ल्याउने भन्नेबारेमा कुनै छलफल समेत नहुने गरेको अध्यक्ष कमला सुवेदीले बताइन्।

उनले भनिन् ,”विशेष चिन्ताको विषय यो छ कि २९ जना संक्रमित बालबालिकाहरू रहेका छन् र उनीहरूको भविष्य अन्यौलमा रहेको छ।” यद्यपि यी बालबालिकाहरूको कुनै दोष छैन, तर अझै धेरै संक्रमण फैलिने डर रहेको छ अध्यक्ष सुबेदिले बताइन् ।

तर केही सकारात्मक परिवर्तनहरू पनि देखिएको उनले बताइन । आर्थिक रूपमा परिवर्तन र रूपान्तरण हुँदै गएको र पहिलेभन्दा संक्रमित महिलाहरू बाहिर आउन थालेका छन्। तथापि, सचेतनामूलक कार्यक्रमहरूको आयोजना अझै आवश्यक रहेको छ।

मकवानपुर महिला उत्थान समाजका अध्यक्ष कमला सुवेदीको सभाध्यक्षमा कार्यक्रमको सञ्चालन सितादेवी गुरुङले गरिन् भने देवकी ढुंगानाले स्वागत मन्तव्य राखिन्। अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.