हेटौंडा । हेटौंडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा साउन ७ गतेदेखि दोस्रो संस्करणको ई–स्पोर्ट्स एरिना प्रतियोगिता सुरु हुने भएको छ।
मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सम्बन्धी जानकारी दिइएको हो। आयोजकहरूका अनुसार प्रतियोगितामा फ्री फायर, पब्जी र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। सहभागी खेलाडीको लागि कम्तीमा १६ वर्ष उमेर पुगेको र एसईई परीक्षा दिइसकेको हुनुपर्नेछ।
फ्री फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट राखिएको छ। पब्जी र फ्री फायरमा हरेक टोलीमा एक जना ब्याकअपसहित ५ जना खेलाडी रहनेछन्। कुल ४८ टोलीका करिब २८० खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ।
विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार मकवानपुर जिल्लामा कलेज तहबाट पहिलो पटक पुरस्कार राशिसहितको यति ठूलो ई–स्पोर्ट्स प्रतियोगिता आयोजना हुन लागेको हो। उनका अनुसार नेपालमै कलेजस्तरबाट आयोजना हुने सबैभन्दा ठूलो ई–स्पोर्ट्स इभेन्ट मानिएको यो प्रतियोगिताको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ।
पुरस्कार विवरण यसप्रकार छः
फ्री फायर
प्रथम टिम: रु ११,०००
दोस्रो टिम: रु ५,५००
तेस्रो टिम: रु २,५००
उत्कृष्ट खेलाडी र फ्यान फेभरेट टिम: रु २,०००–२,०००
पब्जी
प्रथम टिम: रु ८,५००
दोस्रो टिम: रु ४,०००
तेस्रो टिम: रु २,०००
उत्कृष्ट खेलाडी: रु १,५००
ई–फुटबल
प्रथम स्थान: रु ४,०००
दोस्रो स्थान: रु २,५००
तेस्रो स्थान: रु १,५००
टप गोलकर्ता: रु १,०००
प्रतियोगिताको फाइनल खेल साउन ८ गते हुने जनाइएको छ। आयोजकहरूका अनुसार युवापुस्तामा बढ्दो ई–स्पोर्ट्स मोहलाई सही दिशामा प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

















