मकवानपुर । बागमती प्रदेशमा हालसम्म ७६ प्रतिशत धान रोपाइँ सकिएको छ । प्रदेशका कृषि विकास निर्देशनालयका अनुसार, आइतबारसम्ममा बागमती प्रदेशमा ७६ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको हो ।
यो गत वर्षको तुलनामा ६ दशमलव ५४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ७० दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, प्रदेशको काठमाडौँ, भक्तपुर र ललितपुरमा धान रोपाइँ सकिएको छ । यो सँगै काठमाडौँमा ५ हजार ९ सय २४ हेक्टर, ललितपुरमा ४ हजार १ सय ६३ हेक्टर र भक्तपुरमा २ हजार ६ सय ९९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।
यस्तै, मकवानपुरमा ५९ दशमलव ३ प्रतिशत, चितवनमा ८० दशमलव ३ प्रतिशत र नुवाकोट ९६ प्रतिशत, सिन्धुलीमा ६३ दशमलव ७ प्रतिशत, रामेछापमा ८३ प्रतिशत र सिन्धुपाल्चोकमा ६७ दशमलव २ प्रतिशत जमिनमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी, रसुवामा ३७ दशमलव ७० प्रतिशत, काभ्रेमा ७६ दशमलव १४ प्रतिशत, दोलखामा ९२ प्रतिशत रोपाइँ सकिएको छ भने प्रदेशको धादिङ जिल्लामा हालसम्म सबैभन्दा कम रोपाइँ सम्पन्न भएको छ । त्यहाँ हालसम्म ४० प्रतिशत मात्र रोपाइँ भएको निर्देशक श्रेष्ठले बताए ।
असार महिना सकिन लाग्दा देशभर ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

















