काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती आज मनाइँदैछ । नेपाल तथा विश्वभर रहेका नेपाली भाषी समुदायहरूद्वारा विविध कार्यक्रम गरी आज भानु जयन्ती मनाउन लागिएको हो ।
वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घामा जन्मिएका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई पहिलो पटक नेपालीमा अनुवाद गरी आम नेपाली जनतालाई धर्म, संस्कार र साहित्यमा सहज पहुँच दिलाएका थिए । उनले नेपाली भाषामा जनचेतनामूलक र नैतिक शिक्षा प्रधान काव्यहरू पनि लेखेका छन्, जसले आजसम्म नेपाली साहित्यमा गहिरो प्रभाव पारेका छन्।
उनका रामायण, वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता जस्ता काव्यकृतिहरू नेपाली साहित्यको अमूल्य सम्पत्ति मानिन्छन्। भानुभक्तको काव्यले नेपाली समाजमा भाषिक एकता, भावनात्मक समर्पण र राष्ट्रिय चेतना फैलाएको विज्ञहरूको भनाइ छ।
आजको दिन मकवानपुरसहित देशको विभिन्न विद्यालय, विश्वविद्यालय, साहित्यिक संस्था तथा समुदाय स्तरमा कविता प्रतियोगिता, वक्तृत्वकला, भानुभक्तका रचनामाथि चर्चा, सांस्कृतिक कार्यक्रम लगायतका विविध कार्यक्रमहरूको आयोजना गर्दैछ । आजको दिन उनको स्मृति र कृतित्वलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरिँदैछ।

















