मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीस्थित सडक निर्माण स्थलमा आज बिहान सुख्खा पहिरो खस्दा ढुंगाले लागेर एक जना मजदुर गम्भीर घाइते भएका छन् ।
बिहान करिब सवा ८ बजेको समयमा भीरबाट खसेको सुख्खा पहिरोले ढुङ्गाले लाग्दा खोटाङको लामिडाँडाँ घर भई हाल सडकमा नाली निर्माणको काम गरिरहेका २० वर्षीय केशव मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, मगरको टाउको र ढाडमा गम्भीर चोट लागेकाले बोल्न नसक्ने अवस्थामा रहेका छन् । घटनापछि प्रहरी चौकी फाखेलबाट प्रहरी निरीक्षक कमलबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले प्रारम्भिक उद्धार गरी उनलाई थप उपचारका लागि काठमाडौं पठाएको छ ।
उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

















