हेटौंडा । जेसीआई हेटौंडाद्वारा हेटौंडा–९ स्थित श्री त्रिवेणी आधारभूत विद्यालयमा पोशाक वितरण गरिएको छ। सोमबार एक कार्यक्रमबीच जेसीआई हेटौंडा वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँले आफ्नो स्व. पिता बिहारी लाल बानियाँको स्मृतिमा पोशाक वितरण गरेका हुन् ।
पोशाक वितरण कार्यक्रम हेटौंडा ९ नम्बर वडा अध्यक्ष एवम् जेसीआई हेटौंडाका मानार्थ सदस्य सुकराम केसीको प्रमुख आतिथ्यता एवम् जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
जेसीआई नेपाल वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेश लाल श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा जेसीआई हेटौंडा लेडी वर्ष २०२० की अध्यक्ष सुशिला पौडेल, वडा नं. ९ का सदस्य कमला पौडेल र बिष्णु राना लगायतको आतिथ्यता थियो ।
विद्यालयलाई नर्सरी कक्षामा अध्ययनरत २५ जना विद्यार्थीहरूका लागि टिसर्ट, टाउजर, जुत्ता र मोजा लगायतका पोशाकहरू वितरण गरेको कार्यक्रम संयोजक आँसु बानियाँले जानकारी दिए ।

















