हेटौँडा । छिमेकी देश चिनको तिब्बत क्षेत्रमा परेको ठुलो पानीपछी भोटेकोसी नदीमा एक्कासी आएको बाढीले मुख्यत बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछी बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न अपिल गरेका छन् ।
भोटेकोशी नदीमा बेपत्ता भएकामध्ये केहीको शव फेला परेको खबर प्राप्त भएको भन्दै प्रदेश प्रमुख देवकोटाले बेपत्ता, निधन र भौतिक संरचनाको अपूरणिय क्षतीको खबरले आफू स्तब्ध भएको उल्लेख गरे ।
उनले भने, ‘यो विपद्को समयमा पीडित प्रभावितलाई सहायता गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, रेड्क्रसलगायत परोपकारी निकायहरुलाई उद्धारमा जुट्न र तयारी अवस्थामा रहन समेत विशेष अनुरोध गर्दछु ।’
उनले विपदबाट बच्नको लागि आफू सचेत रहन र अरुलाई सहायता गर्न सबैमा अनुरोध गर्दै यस्तो जोखिमको बेला नदी तटीय क्षेत्रमा बसोबास नगर्न, बाढीले बगाएर ल्याएको काठ, दाउरा बटुल्न नजान र अरु गएमा समेत रोकेर संभावित जोखिम कम गर्न भनेका छन् ।
साथै उनले भने, ‘यो दुःखद घडीमा आ–आफ्नो तर्फबाट विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गर्दछु । उद्दार र राहत कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायहरूलाई हार्दिक आग्रह गर्दछु ।’

















