राक्सिराङमा चट्याङ लाग्दा आमाछोरीसहित ३ जना घाइते

हेटौंडा । राक्सिराङ गाउँपालिका–८ माइसिराङमा शुक्रबार साँझ परेको चट्याङले आमाछोरीसहित तीन जना घाइते भएका छन्।

साँझ करिब ५ बजे परेको चट्याङ घरको पिढीमा बसेका बेला लाग्दा २५ वर्षीया रविना प्रजा र उनकी ६ वर्षीया छोरी एनिका प्रजा घाइते भएको स्थानीय आर्यन प्रजाले बताए। चट्याङ लागेर छोरी एनिकाको अवस्था गम्भीर रहेको र उनी बेहोस रहेको जनाइएको छ। आमाको अवस्था भने सामान्य रहेको छ।

घाइतेहरूलाई स्थानीयले बोकेर मनहरीतर्फ ल्याउने प्रयास भइरहेको बताइएको छ । यसैबीच, चट्याङबाट थप एक बालिका पनि घाइते भएकी छन्। प्रजा प्रगति विद्यालयका प्रधानाध्यापक करण प्रजाकी ७ वर्षीया छोरी स्मृति प्रजा चट्याङबाट सामान्य घाइते भएको स्थानीय देव प्रजाले जानकारी दिए।

स्थानीयका अनुसार चट्याङको जोखिम न्यूनीकरण गर्न राक्सिराङ गाउँपालिकाले विभिन्न प्रविधिहरू जडान गर्दै आएको छ। यसै वर्ष मात्रै चट्याङ आउनुअघि सूचना दिने प्रविधि गाउँपालिकाका विभिन्न स्थानमा जडान गरिएको हो। तर, वर्षेनी चट्याङ पर्ने र मानवीय क्षति हुने क्रम रोकिएको छैन।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.