यातायात व्यवसायीद्वारा ७ बुँदे मागसहित देशव्यापी रुपमा अनिश्चित्तकालिन आन्दोलनको घोषणा

हेटौँडा । यातायात व्यवसायीहरुले भोलि जेठ १९ गतेदेखि देशव्यापी रुपमा अनिश्चित्तकालिन आन्दोलनको घोषणा गरेको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् विभिन्न ७ बुँदे माग राख्दै देशव्यापी रुपमा अनिश्चित्तकालिन आन्दोलनको घोषणा गरिएको हो ।

सार्वजनिक यातायात बचाउ अभियानले सवारी साधनहरु घर, ग्यारेजमा थन्काएर अन्दोलन गर्ने घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार एवम् मकवानपुरका आन्दोलन संयोजक गोकर्ण पराजुलीले जानकारी दिए ।

उनका अनुसार, सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पती फुकुवाको परमादेश लागु गर्न माग गरिएको हो ।

स्वेदशी तथा विदेशी सवारी साधनको भारबहन क्षमता कडाई साथ लागू गर्न, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य रुपमा लागू गर्नुपर्ने उनले बताए ।

बिमा दर निर्देशिका २०७३ लाई समयानुकुल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको लागि दुर्घटना राहतकोषको स्थापना गर्न ढुवानी ऐन लागु गरी माल वस्तुमा अनिवार्य बिमा गर्ने नीति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्तामुखी, प्रविधिमैत्री बनाउन यातायात प्राधिकरण गठन गर्न पनि यातायात व्यवसायीहरुले माग गरेका छन् ।

यस्तै, छिमेकी मुलुकहरुबाट नेपाल प्रवेश गर्दा मालबाहक तथा यात्रुबाहक सवारी साधनले नेपालको भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीतिलाई संशोधन गर्नुपर्ने समेत उनीहरुको माग रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाल ट्रक यातायातको केन्द्रिय सदस्यहरु सरोज खनान र बद्री चौलागाई, अखिल नेपाल यातायात मजदुर संघको मकवानपुर अध्यक्ष बासु सिकारी, यातायात मजदुर संघ मकवानपुरका उपाध्यक्ष नवराज घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सहकोषाध्यक्ष अर्जुन गौतम, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.