हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा सहिद कृष्ण सेन ‘इच्छुक’को २३ औं स्मृति दिवसको अवसरमा “जनपक्षीय पत्रकारिता: आजको आवश्यकता र महत्व” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा निवर्तमान बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश सचिवालय सदस्य एवं बागमती गाउँपालिकाका निर्वाचित अध्यक्ष सर्केश घलान ‘मधु’, प्रेस सेन्टर नेपालकी सचिव अञ्जली थापा, पत्रकारहरू, सामाजिक अभियन्ताहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले कृष्ण सेन इच्छुकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान स्मरण गर्दै आजको परिवेशमा जनपक्षीय पत्रकारिताको अझ ठूलो आवश्यकता रहेको धारणा राखे। उनीहरूले व्यावसायिक दबाब, सूचना प्रवाहको सन्तुलन, र जनताको आवाज बुलन्द गर्न पत्रकारिताले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारे।
कार्यक्रम प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एम.पी. शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। सहभागीहरूले कृष्ण सेन इच्छुकको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
बि.स. २०५९ जेठ १५ गते राज्यद्वारा हत्या गरिएका सहिद कृष्ण सेन ‘इच्छुक’ नेपाली जनपक्षीय पत्रकारिताका प्रतीक पात्र मानिन्छन्। उहाँको स्मृतिमा प्रत्येक वर्ष देशभर विविध कार्यक्रमहरू आयोजना हुँदै आएका छन्।

















