हेटौंडा । हेटौँडा मुख्य बजार क्षेत्रमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल) को आयोजनामा बृहत् सरसफाइ अभियान सम्पन्न भएको छ। बुधबार अभियानमा मण्डलीका सदस्यहरू, स्थानीय सुरक्षाकर्मी, नगर प्रहरीसहित करिब ४ सय स्वयंसेवकहरू सहभागी थिए ।
अभियान अन्तर्गत बजार क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा सरसफाइ कार्य गरिएको थियो । यस क्रममा करिब ३ टिपर प्लास्टिकजन्य फोहोर संकलन गरिएको आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको अभियानमा स्वयंसेवकहरूलाई प्रोत्साहन पनि गरिएको थियो ।
कार्यक्रममा हेटौंडाका उप-मेयर राजेश बानियाँले उपस्थित भई मण्डलीद्वारा सञ्चालित ८७२३ औं विश्व वातावरण सरसफाइ अभियानको स्वागत गर्दै आभार व्यक्त गरे । कार्यक्रममा शैक्षिक, सामाजिक, प्रशासनिक, राजनीतिक तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
परमेश्वरको मण्डलीका एक अधिकारीले भने, “हाम्रो उद्देश्य केवल सफा गर्ने मात्र होइन, वातावरणप्रतिको आम धारणा बदल्दै समाजमा सचेतना फैलाउनु पनि हो ।” नेपालका विभिन्न सहरमा निरन्तर वातावरणीय गतिविधि गर्दै आएको यस मण्डलीले विगत वर्षभरिमा २१ पटक विश्वव्यापी रक्तदान कार्यक्रम, सामाजिक संस्थाहरूमा सामग्री अनुदान, भूकम्प पीडित क्षेत्रमा मर्मत तथा सहयोग लगायतका कार्यसमेत सञ्चालन गरेको छ। हालसम्म नेपालभर ५४,१५३ जनाले ९४१ वटा सामाजिक योगदानका गतिविधिहरूमा सहभागिता जनाइसकेका छन्।
विश्वभर १७५ राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा फैलिएको यो मण्डलीले विभिन्न अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेको छ। नेपालमा समेत यस मण्डलीले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्रशंसा प्राप्त गर्दै आएको छ।
















