Qमकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मानेडाँडास्थित चुरियामाई मन्दिरको नवनिर्मित प्राणप्रतिष्ठा भवनको उद्घाटन गरिएको छ । उक्त नवनिर्मित प्राणप्रतिष्ठा भवनको बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री बिमल चन्द्र ठकुरीले उद्घाटन गरेका हुन् ।
सो क्रममा बोल्दै उनले चुरियामाई प्रतिस्थापन गर्नु गौरवको विषय रहेको बताए । मन्त्री ठकुरीले संस्कार, सँस्कृतिको पुर्नजागरण र जगेर्ना गर्न सबै लागि पर्नुपर्नेमा जोड दिए । उनले मन्दिर निर्माण र व्यस्थापनमा थप सहयोग गर्ने दृढता व्यक्त गरे ।
यसैगरी, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष मिना तितुङले चुरियामाईले साँस्कृतिक समृद्धि र समाजिक मेलमिलापलाई प्रवद्र्धन गर्दै आएको बताए । चुरियामाई मन्दिर धार्मिक पर्यटन प्रवद्र्धनमा पनि कोसेढुङ्गा साबित हुने उनको भनाई छ । अध्यक्ष तितुङले मन्दिर भवन निर्माण सम्पन्न गर्न सँस्कृति तथा पर्यटन मन्त्रालयले २३ लाख सहयोग गरेको जानकारी गराए ।
सो क्रममा मन्दिरको प्राङगणमा यज्ञ पुजाको समेत आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, घर जग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष पवन तिमल्सिना, खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्ष सानु लामा लगायतको आतिथ्यता रहेको थियो ।














