मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । बुधबार बिहान प्रभातफेरीसहित प्रवचन, पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाइएको हो ।
कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उत्कृष्ट भएका सहकारीहरूलाई नगदसहित सम्मान गरिएको थियो । उत्कृट हुने सहकारीमा हेटौंडा–११ को बागेश्वरी महिला सहकारी संस्था लिमिटेड रहेको छ । सहकारी दिवस मनाउँदै गर्दा ¥यालीमा बागेश्वरी सहकारी समयमै उपस्थित भई एकै किसिमका भेषभुषा सहित उपस्थित भएको भन्दै नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
यसैगरी, साना किसान सहकारी लिमिटेड हटिया द्वितीय, साना किसान सहकारी संस्था हर्नामाडी तृतीय तथा महिला मिलन बचत तथा ऋण सहकारी संस्था, साना किसान सहकारी मनहरी र साना किसान सहकारी बसामाडी सान्त्वना भएको थियो । द्वितीय, तृतीय र सान्त्वना भएका सहकारीहरुलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीले अब उत्पादनमुलक कार्यलाई जोड दिनुपर्ने सुझाव दिए । बचत र ऋणसँगै अब उत्पादनमुलक कार्यमा लाग्नु जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा सहकारीसंग सम्बन्धित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको थियो । सहकारी संघसंस्थाको कार्यालयमा यस वर्षको नारा उल्लेख गरी व्यानर राख्नुका साथै सहकारीको विषयमा अन्तरक्रिया तथा रक्तदान कार्यक्रमको आयोजना भएको थियो ।
दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्षको नेतृत्वमा मूल समारोह समिति गठन गरिएको थियो । कार्यक्रममा जिल्लाका सहकारी संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहकारी अभियन्ताहरुले यस दिवसलाई विशेष महत्वका साथ मनाउने गरेका छन् । सहकारी दिवसको दिन जिल्लाका सहकारी संघसंस्था बिदा समेत भएको थियो ।

















