हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौंडामा आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव समापन भएको छ । फागुन ६ गते मंगलबारबाट हेटौंडाको टीसीएन चौरमा आयोजित महोत्सवको आइतबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
महोत्सवलाई एकलाख जनाले अवलोकन गरेको र ६ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतामा भएको महोत्सवको समापनमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
संघ मकवानपुर अध्यक्ष कंडेलले सबैको साथ सहयोगले महोत्सव सम्पन्न भएको बताए । ‘हामीले निर्माण व्यवसायी संघको नयाँ भवन निर्माण गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरेका हौं । केही अन्यौलताका बीच पनि महोत्सव शान्त र भव्य रुपमा सम्पन्न भएको छ’, उनले भने, ‘सहयोग गर्ने सबै र अवलोकनकर्ताहलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ महोत्सवबाट बचेको रकमलाई निर्माण व्यवसायी संघको नयाँ भवन निर्माणमा प्रयोग गरिने उनले प्रतिबद्धता जनाए ।
महोत्सवको समापनमा बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष खड्ग गोपाली, नेपाली कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, हेटौंडा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनीसँगै विक्रीलाई जोड दिइएको थियो । दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रश्तुतीका साथै दैनिक उपभोग्य सामानहरुको प्रदर्शनी, सामुन्द्रिक माछाहरुको वृहत् प्रदर्शनी, बहुराष्ट्रिय कम्पनीको उत्पादनको विक्री तथा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, मनोरञ्जनात्मक बाल उद्यानलगायत रहेको थियो । महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुनुका साथै यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धा भएको आयोजकको दावी छ । महोत्सवको उद्घाटन भने गृहमन्त्री रमेश लेखकले गरेका थिए ।

निर्माण व्यवसायी प्रताडित छन् : सिंह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी अहिले प्रताडित अवस्थामा रहेको बताएका छन् । दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको समापनको प्रमुख अतिथि रहेका उनले निर्माण कार्यको समयमा सिमेन्ट, छड लगायतको सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धि तथा काम गरेको भुक्तानी नपाउँदा व्यवसायी प्रताडित हुनुपरेको बताए ।
‘एकातिर काम गरेको पैसा पाउन सकिएको छैन, अर्कोतिर निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिले हामी मारमा परेका छौं’, उनले भने, ‘अहिले हामीले काम गर्ने वातावरण नै छैन । यसतर्फ राज्यले गम्भीर ढंगले ध्यान दिन जरुरी छ ।’ निर्माण सामग्रीमा कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरिएको अध्यक्ष सिंहले आरोप समेत लगाए ।
विश्वभर सफल भएका निर्माण व्यवसायीहरु नेपालमा काम गरेर असफल हुन पुगेको दावी समेत गरे । पूर्वाधार र विकासमैत्री ऐन कानुनहरु नहुँदासम्म नेपालमा निर्माण कार्यहरु समयमा सम्पन्न हुन नसक्ने उनको भनाई थियो । अध्यक्ष सिंहले राजनीतिक नेतृत्वहरुले स्रोतको सुनिश्चित्तता बिना नै निर्वाचन क्षेत्र लक्षित योजना ल्याउने गरेको आरोप समेत लगाए ।
आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव सफल भएको भन्दै उनले लुकेर बसेका प्रतिभाहरुलाई पनि महोत्सवले राम्रो अवसर प्रदान गरेको दावी गरे । निर्माण व्यवसायीहरु सामाजिक उत्तरदायित्व वहन गर्न पनि सक्षम छ भन्ने कुरा महोत्सवबाट पुष्टी भएको अध्यक्ष सिंहको ठोकुवा थियो । प्रदेश दैनिक

















