हेटौंडा। थाहा नगरपालिकाले आलु उत्पादनमा वृद्धि गर्न ५० प्रतिशत अनुदानमा आलुको उन्नत जातको बीउ वितरण गरेको छ। नगरपालिकाले कृषि विकास शाखाको सहयोगमा वडा नं . ३ स्थित अविरल कृषि समूहसँग साझेदारी गरेर आजिटा जातको ६ सय ५० किलो आलुको बीउ वितरण गरेको हो।
नगरपालिकाले २ लाख ९३ हजार र कृषि समूहले पनि समान रकमको अनुदान दिंदा कुल ५ लाख ८६ हजार रुपैयाँ खर्च भएको बीउ कृषकहरुलाई प्रदान गरिएको छ। कृषि शाखाका प्रमुख संजय तिवारीका अनुसार, यस वितरणमार्फत क्षेत्रका कृषकहरुलाई उन्नत आलु बीउको पहुँच सहज बनाइनेछ।
कार्यक्रममा थाहा नगरका प्रमुख विष्णु बिष्टले नगरपालिकाले कृषि क्षेत्रमा विशेष ध्यान दिएको र यहाँको बजेटको एक ठूलो हिस्सा कृषि क्षेत्रमा बिनियोजन गरेको बताएका छन्। उनले थपे, ूसार्वजनिक मल वितरण प्रणालीले थाहा नगरका कृषकहरुलाई ठूलो समस्या खेप्नुपरेको छ, र यसमा सुधारको आवश्यकता छ।ू उनले सरकारसँग आग्रह गर्दै मल वितरणमा थाहा नगरलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिएका छन्।
अविरल कृषि समूहका अध्यक्ष श्याम बिष्टले सरकारद्वारा सिफारिस गरिएको बीउको गुणस्तर उच्च भएको भन्दै कृषकहरुलाई ढुक्क भएर यो बीउ लगाउन आग्रह गरे। साथै, बीउ वितरण कार्यक्रममा समूहका जेष्ठ सदस्य सानोकाजी कार्कीको अध्यक्षतामा थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी र अन्य कृषि समूहका प्रतिनिधिहरूको उपस्थिति थियो।
यस कार्यक्रमले थाहा नगरका कृषकहरुलाई उन्नत आलु उत्पादनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ, र सिचाइ सुविधाको सुधार आवश्यकताको बारेमा कृषकहरुको प्रतिक्रिया पनि आएको छ।














