युवा पलायन रोक्न राज्यले उचित सम्बोधन गर्नुपर्छः मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजना गरेको ‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

‘म खेलकुद क्षेत्रबाट आएको मान्छे, युवाहरुको भावना र मर्म बुझ्छु । विषयगत ज्ञान पनि मसँग छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन पर्याप्त छैन । जसले गर्दा हामीले युवाहरुको क्षेत्रमा उल्लेख्य काम गर्न सकिरहेका छैनौँ ।

फलस्वरुप युवाहरुलाई स्वदेशमा टिकाउनै मुस्किल छ ।’ उनले भने । परम्परागत पेसा र व्यवसायको जगेर्ना गर्दै व्यवसायीकरणमा युवालाई सहयोग गर्न सके युवाहरु उत्प्रेरित हुने भन्दै उनले आफ्नो कार्यकालमा युवामैत्री उद्यमशीलतासम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पूँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्न पहल गर्ने बताए ।

त्यस्तै प्रदेश सचिव बद्रीनाथ गैह्रे र परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवाहरुलाई नेतृत्व, व्यक्तित्व विकाससँगै रचनात्मक, सिपमुलक तालिमसँग जोड्न सहयोग समन्वय गरिने बताए । साहित्य संगम मकवानपुरले समन्वय गरेको कविता उत्सवमा साहित्यकार मोमिला जोशीले १० वटा कविता प्रस्तुत गरेकी थिइन् । त्यस्तै सोही अवसरमा खुला कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.