हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाइ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले घोषणा पत्र पढेर बालमैत्री वडा घोषणा गरेकी हुन् ।
बालमैत्री वडा हुन थोरै सुचक यताउता भएता पनि बालमैत्री हुन पुग्ने सुचक वडाले पार गरेको हेटौंडा १९ नम्बर वडाध्यक्ष नरनाथ सुबेदीले बताए । १९ नम्बर वडा साबिकको बसामाडी गाबिस वडा १ ,२ , ४ , ६ र ७ मिलेर बनेको वडा भएकोले क्षेत्रफलको हिसाबले यश वडालाइ सबैभन्दा ठुलो वडा मानिन्छ । यसको कुलक्षेत्रफल ४७.०७ बर्ग किलोमीटर रहेको जनाएको छ ।
वडाका अनुसार २०७९ घरधुरी रहेको छ भने कुल जनसंख्या १० हजार ९४ रहेको छ । जसमा ४ हजार ९ सय ९३ महिला , ५ हजार १ सय १ पुरुष , ३ हजार ३ सय ५० बालबालिका छन् । जसमा बालक १ हजार ७ सय २७, बालिका १ हजार ६ सय २३ जना रहेका छन् ।
वडा कार्यालय र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समितिको आयोजनामा हेटौंडा १९ पन्ध्रशोलामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका उपमेयर राजेश बानिया, उपमहानगर प्रवक्ता तथा हेटौंडा–१ वडाध्यक्ष सबिन न्यौपाने र उपमहानगर वडाध्यक्षहरु जुना दाहाल, सुशील घिमिरे, सुकराम केसी, दामोदर गौतम, रामकृष्ण थापा र पेम्बा लामा लागायत सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

















