काँग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने

हेटौंडा । नेपाली कांग्रेसले काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । शनिबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितीले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरको नगर प्रमुख पद रिक्त रहेको थियो। उक्त पदमा मंसिर १६ गते उप निर्वाचन तोकिएको छ ।

कीर्तिपुरको मेयरमा डंगोलसहित स्वर्गीय नकर्मीकी श्रीमती जमुनालगायत एक दर्जन नेताहरुले आकांक्षा राखेका थिए । उपनिर्वाचनका लागि एमालेले डा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्रा. डा. शिवशरण महजन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तोकेको छैन ।

उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

काँग्रेस बागमती प्रदेश संसदीय समितिले दिवंगत नकर्मीप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्दै उपनिर्वाचनमा काँग्रेसको उम्मेदवारलाई विजयी गराउन समेत अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.