हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट रामकुमार रायमाझी ‘हारा’ले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन्।
२०७० सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका रायमाझीले पार्टी संगठनसँगको निरन्तर आबद्धता र युवा सहभागितालाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै उम्मेदवारी दिने भएका हुन्।
रायमाझी नेपाल तरुण दलमा समेत सक्रिय छन्। उनले संगठन निर्माण तथा युवा परिचालनका क्षेत्रमा काम गर्दै आएको बताएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति, संगठन र नेतृत्व निर्माणमा थप भूमिका निर्वाह गर्ने उनको भनाइ छ। मकवानपुर–२ बाट उम्मेदवारी घोषणा गर्दै रायमाझीले युवा सशक्तीकरण, समाजसेवा, रोजगारी सूचना र समावेशी नेतृत्वलाई आफ्नो प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन्।
मकवानपुर कांग्रेसमा नयाँ पुस्ताको सहभागिताबारे बहस भइरहेका बेला रायमाझीको उम्मेदवारीले क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि चयनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ। रायमाझीले आफूलाई संगठनसँग जोडिएको युवा प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै महाधिवेशनमार्फत पार्टीभित्र नयाँ जिम्मेवारी लिन खोजेका छन्।














