थाहामा रड बोकेको ट्रक खोल्सामा खस्यो, चालक घाइते

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–११ नौखण्डेमा रड बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। शनिबार बिहान करिब ७:५० बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख ४३५३ नम्बरको १२ चक्के ट्रक त्रिभुवन राजपथअन्तर्गत नौखण्डेमा घुम्ती मोड्ने क्रममा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा ट्रक चालक हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका करिब ३२ वर्षीय राकेश तामाङ घाइते भएका छन्। उनको दुवै खुट्टा र हातमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइते तामाङको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बिहान ८:३५ बजे काठमाडौं पठाइएको छ। प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेका थिएनन्।

चालकसँग कागजातसमेत रहेको र दुर्घटनाका कारण सडकमा यातायात अवरुद्ध नभएको जनाइएको छ। दुर्घटनामा ट्रकमा क्षति पुगेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.