हेटौंडाको खहरेले बगाएका ४ बालिकाका परिवारलाई कांग्रेस मकवानपुरले २५ हजार दिने

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरेले बगाएका चार बालिकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले घटनामा मृत्यु भएका तीन बालिका र घाइते एक बालिकाका परिवारलाई जनही २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।

गत भदौ २ गते विद्यालयबाट घर फर्कने क्रममा हेटौंडा–१९ बासुदेवस्थित बासुदेव खहरेमा आएको भेलले निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार बालिकालाई बगाएको थियो।

घटनामा ८ वर्षीया रोसनी स्याङताङ, १२ वर्षीया बिनिता ब्लोन र ११ वर्षीया सुमित्रा ब्लोनको मृत्यु भएको थियो। १३ वर्षीया सिमा भोलन भने सकुशल उद्धार भएकी थिइन्।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले दुःखद् घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत उपलब्ध गराउने निर्णय गरिएको बताएका छन्।

कांग्रेसले निर्णयअनुसार सम्बन्धित परिवारलाई राहत रकम उपलब्ध गराउने जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.