मनहरी खोलाले बगाउँदा कैलाशका प्रजा बेपत्ता

मकवानपुर । मकवानपुरको मनहरी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

बुधबार राति करिब ११:०० बजे कैलाश-४, सिसैटा का २५ वर्षीय प्रकाश तामाङ र ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीस्थित आफ्नै घरतर्फ फर्किने क्रममा मनहरी खोला तर्ने प्रयास गर्दा अचानक आएको पानीको बहावले दुवै जनालाई बगाएको हो।

तामाङ भने सकुशल निस्कन सफल भएका छन् । तर प्रजा हालसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाबारे बिहीबार बिहान करिब ९:१५ बजे इलाका प्रहरी कार्यालय भार्ता, मकवानपुरमा सूचना प्राप्त हुनासाथ प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्थानीयसँग समन्वय गरी खोजतलास कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा खोलानाला तर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्दै पानीको बहाव हेरेर मात्र खोला तर्ने, अँध्यारो समयमा खोलानालाको बाटो प्रयोग नगर्ने तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.