हेटौंडा । हेटौंडा अटोमोबाइल्स एसोसिएसनले नारायणी यातायात व्यवसायी संघको नवनिर्वाचित कार्यसमितलाई स्वागत तथा सम्मान गरेको छ।
शनिबार बिहान एसोसिएसनको आफ्नै भवनमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष धर्म धिमालको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिलाई टीका तथा खादा ओढाएर सम्मान गरिएको हो।
संस्थाका महासचिवले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जितेन्द्र तिवारीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा पूर्व अध्यक्षहरूको तर्फबाट सागर सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै हेटौंडा अटोमोबाइल्स एसोसिएसन र नारायणी यातायात व्यवसायी सङ्घबीचको सहकार्य, एकता र समन्वयलाई अझ सुदृढ बनाउँदै सम्पूर्ण यातायात व्यवसायीहरूको हक, हित र अधिकारका लागि संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा हेटौंडा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्षहरू सुरेश कुमार श्रेष्ठ र सागर सापकोटा तथा सल्लाहकारहरू कृष्ण गोपाल सिंह र दीपेन्द्र उप्रेतीको विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले आ-आफ्नो परिचय आदानप्रदान गर्दै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
समापनका क्रममा आयोजना संस्थाका अध्यक्ष धर्म धिमालले स्वागत तथा सम्मान कार्यक्रमले दुई संस्थाबीचको सम्बन्धलाई अझ बलियो बनाएको उल्लेख गर्दै आगामी दिनमा व्यवसायीहरूको साझा हितका लागि सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।













