हेटौंडा । मकवानपुरका होटल तथा गेस्टहाउसमा बसोबास गर्ने केही व्यक्तिमार्फत अनलाइन ठगी तथा आपराधिक गतिविधि बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा निगरानी गर्न आग्रह गरेको छ।
कार्यालयद्वारा बुधबार जारीसूचनामा पछिल्लो समय विभिन्न व्यक्तिहरू ग्राहकको रूपमा होटल तथा गेस्टहाउसमा बस्दै अनलाइन सिप, वैदेशिक रोजगारी, लगानी, बजार अनुसन्धानलगायतका बहानामा ठगी गर्ने प्रवृत्ति बढेको उल्लेख छ। यस्ता व्यक्तिहरूले क्यूआर कोड वा नेपाल तथा भारतका बैंक खातामार्फत रकम जम्मा गराउन लगाउने, विभिन्न प्रलोभन देखाएर रकम असुल्ने जस्ता गतिविधि बढेको भन्दै प्रशासनले सचेत गराएको हो।
सूचनामा उल्लेख भएअनुसार यस्ता समूहले लामो समयसम्म होटलमा बसेर सञ्चालकको फोन, सवारी साधन लगायतका सुविधा प्रयोग गर्दै अन्य व्यक्तिलाई जालमा पार्ने गरेको पाइएको छ। यसले गर्दा ठगीका घटनामा वृद्धि भई पीडितहरूको गुनासो बढ्दै गएको प्रशासनको भनाइ छ।
प्रशासनले होटल तथा गेस्टहाउस सञ्चालकलाई आफ्ना सेवाग्राहीको विवरण अभिलेखीकरण गर्न, शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन तथा दैनिक गतिविधिमाथि निगरानी राख्न निर्देशन दिएको छ। साथै, सर्वसाधारणलाई पनि कुनै व्यक्तिले अनलाइन वा अन्य माध्यमबाट प्रलोभन देखाई रकम मागेमा सतर्क रहन र शंका लागे तुरुन्त प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ।
कार्यालयले यस्ता आपराधिक गतिविधि नियन्त्रणका लागि नागरिक, व्यवसायी र सुरक्षाकर्मीबीच समन्वय आवश्यक रहेको जनाएको छ।














