मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए।
कुल बजेटमध्ये ६३ करोड १३ लाख रुपैयाँ चालु खर्च र २५ करोड ३७ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रमा १० करोड ३३ लाख रुपैयाँ, पूर्वाधार विकासमा ९ करोड ३७ लाख रुपैयाँ तथा आर्थिक विकासतर्फ ३ करोड ९६ लाख रुपैयाँ छुट्याइएको छ।
शिक्षाको गुणस्तर सुधारका लागि ४ करोड ३५ लाख रुपैयाँ, स्वास्थ्य सेवाका लागि २ करोड ५६ लाख रुपैयाँ तथा कृषि आधुनिकीकरणका लागि २ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै करार कर्मचारीको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले सीमित स्रोत–साधनका बीच नागरिकको विकास अपेक्षा सम्बोधन गर्ने उद्देश्यसहित बजेट ल्याइएको बताए।















