हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले नगरका १९ वटा वडालाई कुल ३२ करोड २५ लाख ६५ हजारको बजेटसीमा तोकेको छ ।
गत असार १० मा बजेट प्रस्तुत गरेको उपमहानगरले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि नगर भित्रका १९ वटै वडामा बजेट सिलिङ तोकेको हो ।
आगामी आवको लागि कुल २ अर्व ९० करोड ३ लाख रुपैँयाको बजेट सार्वजनिक गरेको उपमहानगरले वडाहरुमा १ करोड ५५ लाख २३ हजार रुपैँयादेखि २ करोड १८ लाख ९८ हजार रुपैँया सम्मको बजेट सिमा तोकेको छ ।
वडालाई दिइएको बजेट सीमा अनुसार वडाहरुले नगरपालिकालाई योजनाहरु समावेश गरेर उपलब्ध गराएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सवीन न्यौपानेले जानकारी दिए । यो सँगै बुधबारबाट आगामी आर्थिक बर्षको बजेटको पुस्तिका तयार पार्ने काम सुरु भएको उनको भनाई छ ।
वडालाई बजेटको सिलिङ पठाइसकेको भन्दै प्रवक्ता न्यौपानेले आगामी आर्थिक वर्षदेखि उपलब्ध बजेटबाटै १५ लाख रुपैँया बजेट प्रशासनिक कार्यमा खर्चिन सकिने बताए ।
उपमहानगरले वडा नम्वर २,४, ५, ६, ७, ८, ९, १० र ११ लाई १ करोड ५५ लाख २३ हजार रुपैँया, वडा नम्वर १, ३, १२, १३, १४, १५, १६ र १७ लाई १ करोड ७६ लाख ४७ हजार बजेट सीमा तोकेको छ भने वडा नम्बर १८ लाई १ करोड ९७ लाख ७३ हजार र वडा नम्बर १९ लाई २ करोड १८ लाख ९८ हजार रुपैँया बजेट सीमा तोकेको जनाइएको छ ।

















