मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैँया बराबरको बजेट ल्याएको छ । पालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनमा पालिकाका उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिनाले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
उक्त बजेट चालू आवको भन्दा १२ करोडले वृद्धि भएको हो । गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैँया बजेट विनियोजन गरेको थियो ।
आर्थिक वर्ष २०८२–०८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैँया, राजस्व बाँडफाँडबाट २२ करोड ५९ लाख ३१ हजार ६ सय ७४ रुपैँया, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैँया र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैँया व्यहोरिने उल्लेख गरिएको छ ।
पालिकाले प्रत्येक वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, स्थायीबासी, जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामूदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति, आगामी आर्थिक वर्षमा सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरिएको छ ।
यस्तै, सामाजिक क्षेत्रका विभिन्न कार्यक्रमका लागि सबैभन्दा बढी ४२ करोड रुपैँया, पूर्वाधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि १२ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।















